मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुन नदिने
पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले मिडिया काउन्सिल विधेयक पारित हुन कुनै पनि हालतमा पारित हुन नदिने बताउनुभएको छ । बिहीबार हेटौंडामा पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान सरकारका कारण पत्रकारको जीवनसंगै समाचार समेत वीमा गर्नुपर्ने अवस्था आएको बताए । मिडियालाई नियन्त्रण गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याउन खोजिएको भन्दै बिष्टले यो कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘सरकारले नै पत्रकारलाई सडकमा आउने स्थिती निर्माण गरेको हो, अहिलेको स्थितीको गम्भिर्यतालाई सरकारले वास्ता गरेको छैन’, उनले भने, ‘यसले थप जटिल समस्या निम्तिने र त्यो सरकारकै लागि हानी हुने निश्चित छ ।’ समाचार लेखेकै कारण जेल जानुपर्ने कानून कहिँका पत्रकारलाई पनि स्वीकार्य नहुने उनको भनाई थियो ।
यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले मिडिया काउन्सिल विधेयक ल्याउन खोजेर सरकारले आफ्नै खुट्टामा बञ्चरो हान्न खोजेको धाराणा राखे । सरकारको कदम लोकतन्त्रमाथिको हमला भएको बताउँदै उनले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुको विकल्प सरकारसंग नरहेको दावी गरे । पत्रकार महासंघका प्रशिक्षण विभाग सदस्य मनोज ढोडरीले यो अवस्थामा पत्रकारहरु विभाजित हुन नहुने बताए । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँले तेस्रो चरणको आन्दोलनको अन्तिममा आइसक्दा पनि सरकारले वास्ता नगर्नु दुःखद भएको बताए । उपाध्यक्ष कुमार अधिकारीले पत्रकार महासंघ केन्द्रले घोषणा गरेको आन्दोलनमा एक भएर लाग्नुको विकल्प नरहेको धारणा राखे ।