तीनवटा प्रदेशमा आकस्मिक बाढीको खतरा,सतर्क रहन अनुरोध
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ । महाशाखाले प्रदेश नम्बर १, २ र ३ मा आज बाढीको सम्भावना रहेको जनाएको छ । विशेषगरि तराई क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ । सिवालिक र मध्य पहाडी क्षेत्रमा २० देखि ३६ घन्टासम्म बाढीको सम्भावना रहने महाशाखाले जनाएको छ । कन्काइ र कमला नदीमा पानीको सूचक खतराको तहसम्म पुग्नसक्ने भन्दै महाशाखाले सूचना जारी गरेको छ । आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको तथा भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेकव् भन्दै महाशाखाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आह्वान गरेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।