मकवानपुरको कुलेखानी सडकखण्डको विभिन्न ठाउँको पहिरो पन्छाउन अझै चार दिन लाग्ने
हेटौंडा । बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ । सडक विभागले सडक खुलाउने प्रयास भइरहेको भए पनि सबै सडक सुचारु गर्न अझै केही दिन लाग्ने जनाएको हो । विभागले काठमाडौंबाट बल्खु हुँदै हेटौंडा जोड्ने सडक खुलाउन कम्तिमा चार दिन लाग्ने जनाएको छ । मकवानपुरको कुलेखानी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन चार दिन जति लाग्ने भएको हो । यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि दुई दिन लाग्ने भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको हो । काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागको भनाइ छ । त्यसैगरी मुस्ताङको थामाङ गाउँपालिका–४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै अबरुद्ध भएको उदयपुरको घुर्मी–कटारी सडकखण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ ।