मकवानपुरका क्रसर तथा वालुवा प्लान्ट बन्द
हेटौंडा । मकवानपुर जिल्लामा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तथा बालुवा प्रशोधन प्लान्टहरु आजबाट अनिश्चित कालका लागि बन्द गरिने भएको छ । साउन १ गते देखि जिल्ला भरका करिब ५० वटा त्यस्ता क्रसर उद्योग र बालुवा प्लान्ट बन्द गरिने भएको हो । जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालको अध्यक्षतामा बसेको ढुङ्गा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समिति मकवानपनुरको बैठकले मापदण्ड विपरित सञ्चालनमा रहेका त्यस्ता करीब ५० वटा त्यस्ता क्रसर र वालुवा प्लान्ट बन्द गर्ने निर्णय गरेको छ । साउन १ गतेदेखि बन्द गरिएका क्रसर उद्योगहरु संघीय सरकार र प्रदेश सरकारको आवश्यक निर्देशन र ऐन कानुन पून व्यवस्थित भएर आएमा सो कानुनको अधिनमा रहेर मात्र उद्योग खोलिने समन्वय समितिका प्रमुख खुलालले बताएका छन् ।
बर्तमान कानुन अनुसार नदी सिमाना भन्दा ३ सयदेखि ५ सय मिटर, हाईटेन्सन लाईन भन्दा १ सय मिटर, राजमार्ग भन्दा ३ सय मिटर, शिक्षण, स्वास्थ्य, पुरातात्विक, सुरक्षा निकाय भन्दा १ किमि, निकुञ्जको क्षेत्रबाट २ किमि, घनाबस्ती भन्दा २ किमि, बनक्षेत्रभन्दा १ किमि, पक्की पुल भन्दा ५ सय मिटर, अन्तराष्ट्रिय सिमाना भन्दा १ किमिको दूरीमा मात्रै क्रसर उद्योग स्थापना गर्न पाइने नियम छ । मकवानपुरमा हाल सञ्चालनमा रहेका कुनैपनि क्रसर उद्योग तथा बालुवा प्रशोधन प्लाण्टले मापदण्ड पूरा नगरेको समितिका सभापति खुलालले बताएका छन् । त्यसैगरी मकवानपुरको चुरे क्षेत्रमा आईई स्वीकृत भएपनि अर्को व्यवस्था नभएसम्म उत्खनन् तथा ठेक्का समेत नलाउने बैठकले निर्णय गरेको छ । बैठकले मकवानपुरको राक्सीराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा नदिजन्य पदार्थ उत्खनन् गरेको परिणाम सहितको विवरण जिल्ला समन्वय समिति मकवापुरमा तत्काल पेश गर्न निर्णय गरिएको छ ।