हेटौंडामा किशोरीहरू आमा बन्ने क्रम बढ्दै
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम बढेको छ । हेटौंडा अस्पतालका अनुसार आ.व ०७५/७६ मा २० वर्षमुनिका २९७ किशोरी आमा बनेका छन् । उक्त वर्ष हेटौंडा अस्पतालमा २ हजार ४ सय ४२ जना सुत्केरी भएका थिए । हेटौंडा अस्पतालका अनुसार सुत्केरी भएका मध्ये १२ दशमलव १६ प्रतिशत किशोरी आमा बनेका छन् । ‘सबैभन्दा कम उमेरका १६ वर्षका २ किशोरी आमा बनेका थिए,’ अस्पतालको तथ्यांकमा छ । गत आवमा उपमहानगरपालिकाभित्र २० वर्षमुनिका ३३० जना किशोरीले पहिलो पटक आफ्नो गर्भ जाँच गराएका थिए । चार पटक गर्भ जाँच गराउनेको संख्या २९० रहेको छ । अघिल्लो आवमा हेटौंडा उपमहानगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरका ५ सय २७ किशोरी गर्भवती भएका थिए । तीमध्ये १ सय ७९ गर्भवतीले मात्र चार पटक गर्भ जाँच गराएका थिए ।
‘यो तथ्यांकले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ,’ हेटौंडा अस्पतालका डा। प्रवीण श्रेष्ठले बताए । उनले भने, ‘बालविवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा छन् ।’ २० वर्षभन्दा माथिका २ हजार ८ सय ६७ जना महिलाले गत आवमा पहिलो पटक गर्भ जाँच गराए ।यसमध्ये २ हजार ३ सय गर्भवतीले ४ पटक गर्भ जाँच गराएका छन् । अघिल्लो आवमा २० वर्षभन्दा बढी उमेर समूहका २ हजार ७ सय २८ महिलाले पहिलो पटक गर्भ जाँच गरेका थिए । ४ पटकसम्म १ हजार ३ सय ८९ गर्भवतीले गर्भ जाँच गराएका थिए ।