धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम मंगलबारबाट शुरु गर्ने
हेटौडा । गत जेठ १५ गतेदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबारबाट शुरु गरिने भएको छ । स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रंगशालाको काम रोकिएको थियो । सीताराम कट्टेल ९धुर्मुस० तथा कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले मंगलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिए । रंगशालाको काम अगाडि बढाउन धुर्मुस चितवन आइसकेका छन् भने फाउण्डेसनका कर्मचारी सोमबार चितवन आउँदै छन् । धुर्मुसकाअनुसार सोमबार बिहान रंगशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको हो । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रंगशालाका लागि बोलकवल र सङ्कलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ ।