गोरखाको ओडारमा लुकाइराखेको अवस्थामा भेटियो १६ किलो सुन
गोरखा । जिल्लाको धार्चे गाउँपालिकामा रहेको एक ओडारमा लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद गरिएको छ । सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका धनकुमार गुरुङ छन् । बरामद भएको सुन तिब्बतबाट तस्करी गरेर ल्याइएको अनुमान प्रहरीको छ । गुरुङले २० दिनअघि आफ्नो सात लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनकै उजुरीपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा लुकाएर राखिएको सुन बरामद भएको गण्डकी प्रदेशका प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।
गुरुङले तस्करी गरेर ल्याएको सुन कुनै गिरोहको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका गुरूङले ओढारमा सुन लुकाएको ठाउँ आफैँले देखाएका थिए । गत असार ११ गते राति उक्त सुन खच्चडमा बोकाएर धार्चे गाउँपालिकातर्फ जाने क्रममा एक लुटेरा समूहले आक्रमण गरेको थियो । सो घटनामा पक्राउ परेका ४ जनाले नै गुरूङ सुन तस्करी गरेको सूचना दिएको आधारमा उनी पक्राउ परेका हुन् ।