विप्लव समूहका राप्ती ब्युरो सदस्य तेस्रोपटक गिरफ्तार
रोल्पा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका छन् । पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । गत बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए । पक्राउपछि वलीलाई प्युठान लगिएको बताइएको छ । विभिन्न जिल्लाका हिरासतमा समेत वलीले १ सय दिन बिताइसकेका छन् । संगठित अपराध र राज्यविरुद्ध अपराधमा वलीलाई मुद्दा चलाइएको छ । वलीसँगै गिरप्तार भएका सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र चन्द्रबहादुर खड्का भने अदालतको आदेशले सुनसरीबाट रिहा भइसकेका छन् ।
सरकारको प्रतिबन्धपछि नेकपाका रोल्पाका डेढ दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा पार्टीप्रति सामान्य आस्था राख्ने सर्वसाधारणदेखि जिल्ला स्तरीय नेतासम्म छन् । पूर्वी रोल्पाको पाङबाट पक्राउ परेका सो पार्टीको जिल्ला इन्चार्ज जयप्रकाश रोका, धनबहादुर खत्री र भुपेन्द्र खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । त्यसअघि पार्टी सुभेच्छुक खैराम महरासहित अर्का व्यक्ति जेल चलान भइसकेका थिए । पुर्पक्षका लागि भन्दै सो पार्टीका ५ नेता कार्यकर्तालाई जेल चलान गरिसकिएको छ ।