नेपालको विश्वकपको सपना चक्नाचुर , सिंगापुरसँग फराकिलो हार
काठमाडौँ – आउँदो वर्ष अस्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने नेपालको सपना एसियाली छनौट चरणमै तुहिएको छ । ग्लोबल छनौटमा स्थान बनाउनका लागि अति महत्वपूर्ण खेलमा आइतबार नेपाल पराजित भयो । एसियाली क्षेत्रको छनौट प्रतिस्पर्धा आयोजक सिंगापुरले नेपाललाई ८२ रनले पराजित गरेको हो । १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर मात्रै १०९ रन बनायो । नेपालका कप्तान पारस खड्का १२ रन बनाएर आउट भएसँगै टिम धरापमा परेको थियो । त्यसपछि केही बेर उपकप्तान ज्ञानेन्द्र मल्लले पारी धाने । तर उनी पनि ३९ रन बनाएर आउट भए । शरद भेषवाकरले मात्रै सात रन बनाउन सके । विनोद भण्डारी ९ रनमा आउट भए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । उसका लागि टिम डेविडले सर्वाधिक ७७ रन बनाए । उनले ४३ बलमा ८ चौका र तीन छक्काको सहयोगमा ७७ रन बनाएका हुन् । यस्तै रोहन रंगराजनले ३३ बलमा तीन चौका र चार छक्काको सहयोगमा ४९ तथा मनप्रीत सिंहले २७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाए । नेपालका अविनाश बोहराले चार विकेट लिए । यस्तै करण केसीले दुई विकेट लिएका हुन् । अविनाशले सिंगापुरका सर्वाधिक रनकर्ता टिम डेविडलाई ७७ रन बनाएको अवस्थामा आउट गरे । जितसँगै विजेताका रुपमा सिंगापुरले ग्लोबल छनौटमा स्थान बनाएको छ । एसियाली क्षेत्रको छनौटमा नेपाल, सिंगापुर, कतार, कुवेत र मलेसिया थिए ।