नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं । केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्न नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गृह कार्य नपुगेको भन्दै हिजो लगातार तेस्रो पटक सचिवालयका बैठक स्थगित गरिएको थियो । पार्टी एकता निष्कर्षतिर पुगे पनि नेकपाले स्कुल विभाग प्रमुख टुंग्याउन सकेको छैन । स्कुल विभागको नेतृत्व एमाले पक्षले पाउनुपर्ने माग राख्दै गर्दा माओवादी पक्ष पनि यसमा दावी गर्दै आएको छ । बहुआकांक्षी र दाबीमाथि दाबी पर्दै गएपछि केही दिनदेखि सचिवालय तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । त्यही कारण सचिवालय बैठक अघिल्लो हप्तादेखि नै लगातार सरिरहेको छ । स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ । दुई नेताबीच रस्साकस्सी चलिरहँदा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।