नेपाल पर्यटन बोर्डले १ अर्ब ३० करोडको बजेट ल्याउने
काठमाडौं– नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ को लागि करिब १ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेकोले बोर्डले सोहीअनुसारको बजेट ल्याउने तयारी गरेको हो । बोर्डले गत वर्ष १ अर्ब ७५ करोड रुपैयाँको बजेट ल्याएको थियो। गुणस्तरीय पर्यटकको संख्या बढाउन सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाएर सरकारले पूर्वाधार विकास र प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइरहेको उनको भनाइ छ।
पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटकका लागि अनुकूल सेवा सुविधा विस्तारलाई बोर्डले उच्च महत्व दिएको बताउँदै उनले छुटेका कतिपय विषयलाई बजेटमा समावेश गरिने बताए।