एक वर्षमा साढे १६ हजार जनाले नागरिकता लिए
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बितेको आर्थिक वर्ष २०७५–०७६ को कामको विवरण सार्बजनिक गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले पत्रकार सम्मेलन गर्दै एक वर्ष भरी गरेका कामको बिवरण सार्वजनिक गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा बंशजको आधारमा नयाँ नागरिकता १६ हजार ६१३ जनालाई दिएको छ । त्यस मध्यमा पुरुष ७ हजार १९ जना र महिलाहरु ९ हजार ५ सय ९४ जनालाई नागरिकता दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बताउनुभयो । यसैगरी वैवाहिक अंगिकृत नागरिकता १६ जना जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंशजको नागरिकता ३० र प्रितिलिपि नागरिकता ७ हजार ६ सय ८६ वटा वितरण गरिएको उहाँले बताउनुभयो ।
सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले यस कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको थियो । जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा एक वर्षको अवधिमा मिलाइएको छ ।