हेटौँडाको सिद्धार्थ माविमा वन विज्ञान विषय पढाइने
हेटौंडा । व्यावसायिक शिक्षा तथा तालिम परिषद् सीटीईभीटी बाट तीन वर्षे वनविज्ञान विषय अध्ययनका लागि प्रारम्भिक सूचिमा परेको हेटौंडाको सिद्धार्थ माविले पठनपाठनको तयारी सुरु गरेको छ । हेटौंडा–१, चौकीटोलस्थित विद्यालयको ‘ग’ ब्लकमा वनविज्ञान विषय अध्यापनका लागि सिद्धार्थ माविले कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला निर्माणलगायतको काम तीव्र पारेको छ । सीटीईभीटीले प्रवेश परीक्षा लिएर भर्ना हुन योग्य विद्यार्थी पठाउने भएकोले विद्यालयले अहिले भौतिक पूर्वाधारको काम गरिरहेको छ । हेटौंडामा वनविज्ञानसम्बन्धी विश्वविद्यालय तहको पठनपाठन भइरहेकोले आवश्यक जनशक्ति सहजै प्राप्त गर्ने र विद्यार्थीको आकर्षण समेत रहेकोले वनविज्ञान विषयको पठनपाठनको तयारी गरिएको सिद्धार्थ माविका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । सिद्धार्थ माविले वनविज्ञान विषय पढाउन ४० जना विद्यार्थीको कोटा प्राप्त गरेको छ ।
हेटौंडा–१, चौकीटोलस्थित ज्योति आधारभूत विद्यालय सिद्धार्थ माविमा गाभिएपछि विद्यार्थीलाई हेटौंडा–२ स्थित सिद्धार्थ माविको भवनमा स्थानान्तरण गरेर खाली रहेको विद्यालय परिसरमा वनविज्ञान विषयको छुट्टै ब्लक निर्माण गरी पठनपाठन गराइने खतिवडाले बताउनुभयो । प्राविधिक शिक्षाको आवश्यकता र अभिभावक, विद्यार्थीको बढ्दो आकर्षणका कारण वनविज्ञान विषय सञ्चालनको तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले जानकारी दिनुभयो ।