अख्तियारको ‘स्टिङ अपरेसन’ प्रभावकारी – २७ जना पक्राउ
हेटोैडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी निकायमा थालेको ‘स्टिङ अपरेसन’ प्रभावकारी देखिएको छ । सरकारी कार्यालयमा भ्रष्टाचार मौलाउन थालेको उजुरीपछि अख्तियारको हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा २० वटा स्टिङ अपरेसन गरेको थियो । जसमा ४९ लाख ९६ हजार रुपैयाँ घुससहित २७ जना रंगेहात पक्राउ परेका छन् । अख्तियारका अनुसार ११ साउन २०७५ देखि २४ असार २०७६ सम्म गरेको अपरेसनमा जनप्रतिनिधि, प्रहरी, निजामती कर्मचारी र शिक्षकहरू पक्राउ परेका हुन् । अधिकांश तराईका जिल्लामा कार्यरत कर्मचारी पक्राउ परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । अख्तियारका अनुसार बारामा नौ, पर्सा पाँच, रौतहट दुई, मकवानपुर दुई र चितवन तथा रुपन्देहीमा एउटा स्टिङ अपरेसन गरेको जनाएको छ । ६ जिल्लामा गरिएको अपरेसनका क्रममा सबैभन्दा बढी बारामा १२ जना, पर्सामा नौ, रौतहटमा दुई, मकवानपुरमा दुई, रुपन्देही र चितवनमा एक–एकजना घुस रकमसहित पक्राउ परेका थिए ।यो समाचार आजको नयाँ पत्रिकामा सुदीप शिवाकोटी ले लेखेका छन् ।
स्थानीय तहका उजुरी सबैभन्दा बढी
हेटौँडा कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी दर्ता भएको अख्तियारले जनाएको छ । गत आवमा स्थानीय तहका मात्र ६ सय ५६ वटा उजुरी दर्ता भएका छन् । कार्यालयका प्रवक्ता देवकुमार राईले संघीय मामिलाका चार सय २३ वटा उजुरी दर्ता भएको जानकारी दिए ।
पाँच प्रहरी घुससहित पक्राउ
काभ्रेका पाँच प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले टिपर चालकहरूसँग घुस लिने प्रहरीहरूलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तीनजना ट्राफिक प्रहरी छन् । हिगुवापाटी ट्राफिकका हवल्दार तेजप्रसाद भट्टराई, बनेपा ट्राफिक पोस्टमा कार्यरत हवल्दार रामहरि मानन्धर र सिपाही हरिचन्द्र बानियाँ दुई–दुई हजार घुससहित पक्राउ परेका हुन् ।
पाँचखाल चौकीमा सादा पोसाकमा काम गर्ने हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाङे पनि पक्राउ परेका छन् । दुवैबाट दुई हजार रुपैयाँ बरामद भएको अख्तियारको भनाइ छ ।