मकवानपुरको एउटा वडा ‘जेरो होम डेलिभरी’ घोषित
मकवानपुर — मकवानपुर जिल्लाको एउटा वडालाई ‘जेरो होम डेलिभरी’ घरमा सुत्केरी हुने शून्य घोषणा गरिएको छ । थाहा नगरपालिका ६ अर्थात् साविकको बज्रवराही गाविसलाई शुक्रबार उक्त घोषणा गरिएको हो । यसअघि धादिङको ज्वालामुखी गाउँपालिकाको २ र ३ नम्बर वडालाई ‘जिरो होम डेलिभरी’ घोषणा गरिएको थियो ।
थाहाका मेयर लवशेर विष्टले बज्रवराहीस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूको सक्रियताले वडा नं ६ ‘जेरो होम डेलिभरी’ बनेको बताए । बज्रवराहीस्थित स्वास्थ्यचौकीमा गत वर्ष एक सय १ जना गर्भवतीहरू सुत्केरी हुन आएका थिए ।
चौकीले ६ नम्वर वडामा एक सय ५८ जना गर्भवती हुने अनुमान गरेको थियो । चौकीमा पहिलो पटक गर्भ परीक्षण गराउन १ सय ५८ जना आएका थिए । ‘सबै गर्भवतीहरू गर्भ परीक्षण गराउन आएका थिए,’ स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले भनिन्, ‘यहाँका गर्भवतीहरू गर्भ परीक्षण गराउन मात्र आउँदैनन् सुरक्षितसँग सुत्केरी हुन पनि स्वास्थ्यचौकीमा एकरदुई दिन अगाडि नै आउँछन् ।’ सुत्केरी हुन आउने महिला र सहयोगीलाई बस्न र खानका लागि स्वास्थ्यचौकीले निःशुल्क व्यवस्था गरेको छ । स्वास्थ्य चौकीका अनुसार गत वर्ष एक सय १ जना स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका थिए भने ५७ जना गर्भवती सुत्केरी हुन बाँकी छ । एक हजार घरधुरी रहेको वडाका गर्भवतीलाई स्वास्थ्यचौकीमा सुत्केरी हुन आउनका चौकीले टोलरटोलमा गर्भवतीको समूह गठन गरेको थियो ।