पहिरो खस्दा १० घर पुरिए, दुईजना सम्पर्कबिहीन
काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खस्दा १० घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । पहिरोले १० घरमा पूर्ण रुपमा क्षति पुर्याएको र ११ घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएको रिजालले बताए । शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए । तर भाग्ने क्रममा दुई जना भने सम्पर्कबिहिन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् । बेपत्ता हुनेमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेका छन् । खत्री पहिरोबाट बच्न भाग्ने क्रममा र खड्का पहिरोले पुर्न थालेको बस निकाल्ने क्रममा बेपत्ता भएको प्रजिअ रिजालले बताए । उनीहरुको खोजी भइरहेको छ । घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् ।