आफूलाई नचाहिने लुगा छोड्नुस्, चाहिने लुगा लैजानुस् !!
काठमाडौँ – सिंहदरबारको पूर्वीगेटको अघिल्तिर जस्तापाताको टहरो छ । टहरोमुनि ह्याङ्गरमा लुगा झुण्ड्याइएका छन् । हेर्दा पसल जस्तो देखिन्छ । तर लुगाहरु नयाँ भने होइनन्, पुराना लुगा हुन् । ती लुगा नियाल्दै थिए, जमलका अमर शाह । उनी आफ्नो नापको लुगा छान्दै थिए । उनले मनपरेका पाइन्ट, सर्ट र ज्याकेट झोलामा हाले तर उनले ती लुगाहरुको मूल्य तीर्नु नपर्दा दंग देखिन्थे । उनले दंग पर्दै भने ‘हामी गरिबले पैसा तिरेर लुगा पसलबाट नयाँ लुगा किनेर लाउन सक्दैनौँ। यसरी लुगा पाउँदा धेरै खुशी लागेको छ।’ उनले मागेर नै आफ्नो जीविका चलाउने रहेछन् । उनले एक बटुवा मार्फत सिंहदरबारको पूर्वी गेट अगाडि सित्तैमा लुगा दिने ठाउँ छ भन्ने थाहा पाए । त्यहि भएर उनी त्यहाँ आएका रहेछन् । यो ठाउँमा पुराना लुगा ल्याउनमा ‘हन्ड्रेड ग्रुप’ को भूमिका छ । विगत तीन वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो ‘हन्ड्रेड ग्रुप’ । यस गु्रपले प्राकृतिक प्रकोपमा परेका र गरिबहरुलाई सहयोग गर्ने गर्छ । खाना, नाना, छाना, गरिबी र अशिक्षाको, अभावको अन्त्य स्वदेशमा रोजगार सिर्जना’ भन्ने मुल नाराका साथ ‘हन्ड्रेड ग्रुप’ ले पुराना लुगा, भाँडाकुँडा, खेलौना र जुत्ता–चप्पल संकलन गरी गरिब तथा प्राकृतिक विपत्तिबाट प्रभावितलाई दिने उद्देश्यसहित काम गर्दै आएको छ । समूह बनाउने निर्णयबारे अभियन्ता आशाराम यादवले भने ‘साउनको ३ गते यस्तै मिडियामा भिडियो हेरिरहेका थियौँ र त्यहि भिडियोबाट हामीलाई यसको आइडिया आयो। त्यस लगत्तै हामीले ७ गतेबाट लुगा संकलन गर्ने अभियान थाल्यौँ।’ ‘हामीले सिंहदरबारको पूर्वीगेट अगाडि पुराना लुगा संकलन गर्न टहरो जस्तो बनाएर त्यसमा लेख्यौँ–लुगा चाहिन्छ, यहाँ बाट लिनुस्, पुराना सफा कपडा, यहाँ छोड्दिनुस्’, ‘हन्ड्रेड ग्रुप’का अभियान्ता आशाराम यादवले भने । सहयोग गर्न चाहनेले लुगा छोडेर जाने र आवश्यक परेकाले लैजाने गरेको उनले बताए ।
पाँच दिनमा ४ सय जनाले लुगा राखेको र लग्नेको संख्या कम भएको पनि उनले सुनाए। उनले भने ‘यहाँ दिनभरि बस्नु पर्दैन, यति कै छोड्दिन्छौँ। जसलाई मन लाग्छ यहाँ राख्छ जसलाई आवश्यकता हुन्छ त्यसले यहाँबाट लैजान्छन्।’ खासमा उनीहरुले पुराना तर सफा लुगा राख्न आग्रह गरेका थिए। तर मानिसको गलत बुझाईले यसलाई फोहोर फाल्ने ठाउँको रुपमा प्रयोग गरेको देखियो। तर यो त्यसका लागि होइन जो मानिसहरु लुगा किन्न सक्दैनन् उनीहरुका लागि हो र सफा लुगा राख्न अभियान्ताहरुले आग्रह गरे। यसरी संकलन भएका धेरै लुगा रौतहटका बाढी पीडितलाई वितरण गरेको पनि उनले बताए। सो क्षेत्रमा फेरि लुगा पठाउने तयारी भएको उनले जानकारी दिए । केही पुराना तर लगाउने नमिल्ने जस्ता लुगाको सिरक–डसना बनाउने तयारी भएको अभियन्ताले जानकारी दिएका छन् । अभियन्ता मिलन बोगटीले भने, ‘हाम्रो अभियान देशका कोही पनि नाङ्गा नरहुन् र चिसोमा कोही कठ्याङग्रिएर नमरुन् भन्ने हो ।’ उनीहरुले यस अभियानलाई देशका विभिन्न ठाउँमा सञ्चालन गर्ने तयारी रहेको तर आर्थिक अभावले रोकिएको बताए । हरेक स्थानीय तहले आफ्नो पालिकाको हरेक वडामा यस्ता केन्द्र सञ्चालन गरे राम्रो हुने उनीहरुले बताएका छन् ।
देश सञ्चारबाट