हेटौंडामा डेंगुका बिरामी बढ्दै ,नियन्त्रणको प्रयास जारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र ६२ जना डेंगूका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन १ गते देखि साउन २२ गते सम्ममा डेंगूका बिरामी ६२ जना फेला पारिएको हो । बिरामी मध्यमा ३० जना सरकारी अस्पतालमा र अरु बाँकी निजी अस्पताल र क्लनीकमा उपचारको क्रममा देखा परेका हुन् । डेंगूका बिरामी देखापरेपछी बिगत चार दिन देखिबाट जनचेतना जगाउँदै डेंगूको संक्रमण हुने स्थानको नष्ट गर्ने काम गरिएको हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहाँनगरपालिकाबाट माईकिङ गर्ने, लामखुट्टेको वास स्थान नष्ट गर्ने, टोल टोलमा यसका बारेमा जनचेतना जगाउने, बिद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिका स्वास्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।
बिशेषगरी हेटौंडाको वडानम्बर ४ क्षेत्रमा यसको संक्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोल टोलमा जमेका पानी हटाउने काम भईरहेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको आजको कार्यपालिकाको बैठकले प्रत्यक वडामा डेङ्गुको नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरिएको मेयर महतले बताउनुभयो । आजै टोल बिकास संस्था नगर समन्वय समिति संगको अन्तरक्रिया मार्फत पनि डेंगूको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको छ । कार्कीले हेटौंडामा देखापरेको डेंगूको नियन्त्रणका लागि प्रदेश सरकार संगको सहकार्यमा पनि काम भईरहेको बताउनुभयो ।