त्रिशूलीमा भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
धादिङ – बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन। शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो। यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो। मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ।
पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो। केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए। दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ।