प्रदेशको नाम नेवा – ताम्सालिङ्ग नै हुनुपर्छ : कानूनमन्त्री जम्कट्टेल

काठमाडौं – प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समावेशी र समानुपातिक व्यवस्थाका लागि सकारात्मक ढंगले खबरदारी गर्नुपर्ने बताए । ‘राजनैतिक परिवर्तन भयो, सत्ता परिवर्तन पनि भयो,’ उनले भने, ‘कर्मचारी परिवर्तन नहुने, काम गर्ने तरिका परिवर्तन नहुने भएकाले संविधानमा व्यवस्था भएपनि कार्यान्वयन भएको छैन ।’ ‘संविधानमा समावेशी र समानुपातिकमात्र होईन, पहिचानको कुरा पनि छ,’ उनले भने, ‘नयाँ ढंगले बहस र छलफल गर्नुपर्ने अवस्था छ ।’ संविधान, समावेशी र समानुपातिकलाई पूर्ण रुपमा कार्यान्वयन गरी पुराना ऐन, कानून खारेज गराउन पत्रकारले भुमिका खेल्नुपर्ने भन्दै उनले परिवर्तनलाई पूर्ण कार्यान्वयन नगरे शासन व्यवस्था नै खतरामा पर्ने बताए ।प्रदेश ३ मा नेवार र तामाङको बाहुल्य रहेको भन्दै उनले प्रदेशको नाम नेवाः ताम्सालिङ्ग राख्नुपर्ने जिकिर गरे ।

‘प्रदेशको नाम बागमती राख्ने रे, खोलाले मागेको हो संघीयता ? डाँडाकाँडाले मागेको छ त संघीयता ?’ उनले भने, ‘प्रदेशको नाम नेवाः ताम्सालिङ्ग नै राख्नुपर्छ ।’ कार्यक्रममा संविधान सभा सदस्य तारानारायण श्रेष्ठले समावेशी, समानुपातिकको वकालत गर्ने पार्टी र नेता नै सरकार र संसदमा भएकाले जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिदै मिडिया र पत्रकारले पनि सशक्त भुमिका खेल्नुपर्ने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का अध्यक्ष डण्ड गुरुङले समावेशी, समानुपातिकसम्बन्धी संविधानमा धेरै राम्रा कुरा भएपनि सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गरे ।

‘जुन मर्मले समावेशी ल्याईएको थियो, तर व्यवहारमा भईरहेको छैन,’ उनले भने, ‘अहिले त समावेशी, समानुपातिकलाई अत्यन्त गैरजिम्मेवार ढंगले प्रस्तुत गर्ने गरेकोमा दुःख लाग्छ ।’ उत्पीडित र पछाडी पारिएका बर्गको अधिकारका लागि दश बर्षे जनयुद्ध लडेर आएको पार्टी सरकारमा भएपनि संविधानकै धज्जी उडाउने काम भईरहेको भन्दै उनले संविधानको विरुद्धमा ऐन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे । फोनिज प्रदेश ३ का अध्यक्ष पेमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ की सांसद लालकुमारी पुन, फोनिजकी केन्द्रीय सदस्य सन्चु ब्लोन, फोनिजका प्रदेश ३ ईन्चार्ज समिर बलामी, फोनिज प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेल, फोनिजका जिल्ला अध्यक्षहरुको तर्फबाट रामेछापका अध्यक्ष नवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*