आफू अझै १५ बर्ष मैदानमै रहने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका हुन् ।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे उनले जिद्दी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे । उनले भने“संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो । ”

ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए । जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गरे । विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिए । प्रधानमन्त्री ओलीले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*