भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति भण्डारीबिच शिष्टाचार भेटबार्ता
काठमाडौँ । बुधबारदेखि नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान पशुपतिनाथमा पूजाआजा सकेर उनी राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । सो भेटमा भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली समावेश रहेको भारतीय राजदूतासबासले जानकारी दिएको छ ।
नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी जयशंकर बुधबार नेपाल आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै एक घण्टा लामो भेटवार्ता गरे । साथै बुधबार राति उनले राजपाका शीर्ष नेतासँग दुई घण्टा लामो रहस्यमय भेट गरेका समेत बताइन्छ । त्यस भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत आजै भेट गरेर जयशंकर साँझ दिल्ली फर्कने कार्यक्रम रहेको जनाइएको छ ।