चर्चित सुडान घोटालाका दोषी ठेकेदार शम्भु भारती पक्राउ

काठमाडौं– बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी ठहर भएका अभियुक्त शम्भु भारती पक्राउ परेका छन् ।

डेल्धुराको रुपाल घर घइ ललितपुरको भैंसीपाटी बस्दै आएका भारतीलाई शुक्रबार विहान पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले उनीविरुद्ध १ वर्ष कैद र १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ बिगो सजाय सुनाएको थियो ।

सर्वोच्चले १७ वैशाख २०७४ मा उनीविरुद्ध फैसला सुनाएपछि भारती भने फरार थिए । शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा खटिने नेपाली प्रहरीको टोलीका लागि आवश्यक बन्दोबस्तीको सामान खरिदका लागि भारतीले बेलायतको एस्युअर्ड रिस्क कम्पनीको स्थानीय प्रतिनिधिका रुपमा सम्झौता गरेका थिए ।

भारतीले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजी) ओमबिक्रम राणासँगको मिलेमतोमा सामानको स्पेसिफिकेसन र क्याटलग बिनौ नै सामानको दररेट बनाउन लगाएको सर्वोच्चले ठहर गरेको थियो ।

भारतीले सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि आवश्यक पर्ने एपीसी लगायतका बन्दोबस्तीका सामग्री खरिद गर्दा कमसल सामग्री उपलब्ध गराएर अनियमितता गरेको भन्दै सर्वोच्चले उनलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी पनि दोषी ठहर भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*