गाईगोरु मृत्यु घटनाको छानबिन गर्न गृहको टोली सुर्खेतमा
सुर्खेत – दैलेख पुर्याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ ।
मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले बुधबार गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ ।
छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिए ।
“बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छौँ,” उनले भने, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।”
समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ ।
समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन गर्नुका साथै उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि सोधपुछ गरेको छ ।
गृहमन्त्रालयले उपसचिव पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले पनि सुर्खेत आएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
नेपालगञ्जका कानून व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले आज बिहान वीरेन्द्रनगरमा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसँग घटनाबारे सोधपुछ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनीबीचमा रहेको कान्जीहाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका ३६ गाईगोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा भीरबाट खसालेर मारिएको अवस्थामा भेटिनुका साथै बाँकी घाइते र बेवारिसे अवस्थामा छाडिएका थिए ।
सोही दिन प्रहरीले गाई–गोरुलाई भिरबाट खसालेर मारेको अभियोगमा ढुवानीमा आएका ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो ।