अभिनेत्री शिल्पा पोखरेलको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं– फिल्म निर्माता छबि ओझाकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च पुगेकी शिल्पाको रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो ।
शिल्पाले दायर गरेको निषेधाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले शिल्पासहित उनका पति छबिविरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश दिएको थियो ।
आफूविरुद्ध पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् ।
तर, उच्च अदालत पाटनले शिल्पाको माग बमोजिम निषेधाज्ञा जारी गर्न मानेन् । उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । प्रारम्भिक सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अन्तरिम आदेश जारी गरेपछि शिल्पाले दायर गरेको रिट आइतबारसहित गरी २ पटक पेशीमा चढिसकेको छ ।
आइतबार अघि न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिए पनि हेर्न नभ्याइने भन्दै सुनुवाइ भएको थिएन ।