समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न आग्रह
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गरे ।
सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज (बुधबार) आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ । तर बदलिएको समयअनुसार आर्थिक उन्नति गर्दै समृद्ध देश बनाउनुपर्ने छ । वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिकरुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन ।’
प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै अब अल्मलिने समय नभएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक कुरा गरेर हिँडिरहेका छन् । अब देश यस्ता कुराहरुमा अल्झँदैन ।’