दशैंमा घर जाने यात्रुको लागि टिकट बुकिङ खुला
दशैंमा घर जाने यात्रुको लागि आजबाट बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीले टिकट बुकिङ सुरु गरेको हो ।
अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । दसैँमा घर जानका लागि बसको टिकट लिन यात्रुहरु आइतबार बिहान तीन बजेदेखि लाइन लागेका छन्।
हजारौँ मानिसहरु एकैपटक ओइरिएपछि टिकट लिन घण्टौँ लाइन लाग्नु परेको छ । राजधानी काठमाडौँबाट दसैँ मनाउन मुलुकका सबैै जिल्लामा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । तर टिकट लिन आएकाहरुले आ–आफ्नो गन्तव्यका लागि टिकट पाउन सकस भइरहेको बताएका छन्।
बझाङको टिकटका लागि बसपार्क आएका एक व्यक्तिले धनगढीसम्मको मात्रै टिकट पाएको गुनासो गरे । टिकटका लागि असक्त तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै लाइनको व्यवस्था मिलाइएको छैन।