प्रधानमन्त्री ओलीको फेरि मिर्गौला फेर्नुपर्ने, पुन प्रत्यारोपणको तयारी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालमा आईसीयुमा राखेर प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो ।
ग्रान्डी अस्पतालमा हिजै प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस गरिएको थियो । तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह साह र अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
तर, डायलाइसिस गरिएको बिरामीको स्वास्थ्य अवस्था सामान्य नभएको चिकित्सकहरुको भनाइ छ । प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रिएटिनाइन बढी देखिएको अस्पताल श्रोतले खबरहबलाई जानकरी दियो ।
मिर्गौला पुन प्रत्यारोपणको तयारी
प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।
शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले जानकारी दियो ।