जबर्जस्ती करणीको मुद्दा लागेका निवर्तमान सभामुख महरा डिल्लीबजार कारागार चलान
हेटौंडा । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि सोमबार उक्त आदेश दिइएको हो । गएको असोज १९ गते पक्राउ परेका महरा बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका थिए ।
सोमबार अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । आइतबार सरकारी वकिलको तर्फबाट चारजनाले बहस गरेका थिए भने महराको पक्षबाट भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए ।