कांग्रेस सांसद आलमविरुद्ध जन्मकैदको मागदाबीसहित अदालतमा मुद्दा दर्ता
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमविरुद्ध ३ ओटा फरक फरक कसुरमा आजीवन काराबासको मागसहित अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध विस्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुर, ज्यान मार्ने कसुर र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ । अभियुक्त कामय गरिएकामध्ये १० जनाविरुद्ध समान कसुर गरेको अभियोग लगाएर मुद्दा गरिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवालले खबरहबलाई जानकारी दिए । बाँकी १ जनालाई मतियारको रुपमा प्रस्तुत गरेर सोहीअनुसार सजायको मागदाबी गरिएको कटुवालको भनाइ छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराध संहिताको दफा (१७७)अन्तर्गत ज्यान सम्बन्धी कसुरमा (ज्यान मार्ने उद्योग) समेत गरी आजीवन काराबासको सजाय मागदाबी गरिएको जनाएको छ । आलमसहितका १० जना अभियुक्तविरुद्ध बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर मारेको आरोप लागेको छ । १ जनालाई घटनाको मतियार बनेको आरोप छ । आलमले २८ चैत २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन विथोल्ने उद्देश्यले आफ्नो काका (शेख इद्रिस)को घरमा बम बनाउन लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तर, बनाउने क्रममा नै (चैत २७ गते) बम विस्फोट भयो । विस्फोटमा परी करिब २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २१ जना घाइते भएका स्थानीयले दिएको बयानमा उल्लेख छ । घाइते भएकामध्ये १ जना आलमका आफन्त भएकाले उनको भारतमा लगेर उपचार गराइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
स्थानीयको बयानका अनुसार बम विस्फोटमा घाइते भएका र ज्यान गुमाएका गरी २२ जनालाई राज इटाभट्टाको इटा पोल्ने भट्टीमा हालेर मारिएको थियो ।
प्रहरीले भने इटाभट्टामा जलाएर मारिने व्यक्तिको यकीन संख्या उल्लेख गरेको छैन । स्थानीयको बयानका आधारमा १५–१६ जनालाई जिउँदै इटाभट्टामा हालेर निर्ममतापर्वूक मारिएको प्रहरीको भनाइ छ ।
बम विस्फोटमा घाइते भएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का २२ वर्षीय पिन्टु भनिने त्रिलोक प्रताप सिंह र २२ वर्षकै ओसी अख्तर पनि इटाभट्टामा जलाएर मारिएका थिए ।