बङ्गलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणका लागि आउँदैहुनुहुन्छ ।
मंगलबारदेखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हो । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो, नेपाल । नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएपछि सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश नेपाल हो । तर, ३ दशकदेखि दुवैदेशबाट उच्चस्तरीय राजनीतिक भ्रमण नभएपनि सार्क सम्मेलनका समयमा भने भ्रमण भएका छन् । त्यसैले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको छ। वहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ। ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ।
बंगलादेशी राष्ट्रपति हमिदको चार दिने भ्रमण तालिका
मंगलवार
अपराह्न १ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने
प्रधानमन्त्रीसँग वान टु वान भेटवाता गर्ने
राजनीतिक भेटघाट गर्ने
बुधबार
विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारको अवलोकन गर्ने
काठमाडौंका अन्य मन्दिरको अवलोकन गर्ने
नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।
बिहीबार
पर्यटकीय नगरी पोखराको भ्रमण गर्ने
पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुने
नेपालमा रहेका बंगलादेशका नागरिकसँग कुराकानी गर्ने
शुक्रबार
काठमाडौंको चन्द्रागिरी हिल्सको अवलोकन गर्ने
साँझ ५ बजे स्वदेश फर्कने
भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिनुका साथै ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने सहमति हुनेछ । यस्तै, भ्रमणका बेला त्रिदेशीय अर्थात नेपाल, भारत र बंगलादेशसँग सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने बताइएकोे छ ।