होटलमा पक्राउ परेका प्रधानाध्यापकलाई पदमुक्त गर्ने समितिको निर्णय
मकवानपुर, ०२ मंसिर । बाराको सिमरास्थित एक होटलको कोठामा महिलासँग फेला परेका चुरियामाई माविका प्रधानाध्यापकलाई पदमुक्त गर्ने निर्णय गरिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईमा अवस्थित चुरियामाई माविका प्रअ विष्णु परियार लजमा एक महिलासँग प्रहरीले फेला पारेको समाचार सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले प्रअ परियारलाई पदमुक्त गर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिको बैठकले विद्यालयको प्रअको जिम्मेवारीमा कार्यरत प्रअ परियारको बारेमा सञ्चार माध्यमबाट सामाजिक रुपमा नैतिक पतन हुने कार्य गर्दै समाजलाई खलल पुग्ने व्यवहार गरिएको भन्दै समाचार सम्प्रेशण भएकोमा गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको छ । बैठकको निर्णयमा लेखिएको छ–‘विद्यालयजस्तो गरिमामय क्षेत्रमा उहाँलाई (प्रअ परियारलाई) जिम्मेवारी दिन नसकिने हुँदा निजलाई सो जिम्मेवारीबाट मुक्त गराई निजले सम्हाल्दै आएको प्रअको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म हाललाई यस विद्यालयका सहायक प्रअ श्री केशवप्रसाद खतिवडालाई प्रअको जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।’
जिल्ला प्रहरी कार्यालय सिमरा बाराको टोलीले होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा शनिबार दिउँसो ४ बजेको समयमा ४८ बर्षीय प्रअ परियार र हेटौंडा–५ की ३२ बर्षीया एक महिलालाई होटलबाट पक्राउ गरेको थियो । सिमरा बजारमा रहेको दीप होटल, गोर्खाज होटल, झापाली होटल, नमस्ते होटल र रोजी होटलमा चेक गर्दा आपत्तिजनक अवस्थामा उनीहरुसहित ९ जोडीलाई फेला पारेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले अभद्र व्यहार गरेको अभियोगमा आइतबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको छ ।