मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको नेकपाको बैठक शुरु
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक शुरु भएको छ । मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको हो ।
सचिवालय बैठकले मन्त्रिपरिषदमा फेरबदल हुने मन्त्रीहरुको नाम टुग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद सदस्य फेरबदलको प्रस्ताव राख्ने र सचिवालय बैठकले अनुमोदन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको मंगलबार जानकारी दिएका थिए ।
उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।