एथ्लेटिक्सको म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।
दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन् ।
किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे । योसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।
किरणको यो ट्रयाक एण्ड फिल्डमा पहिलो व्यक्तिगत स्वर्ण हो ।
भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयसहित रजत जिते । भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्डसहित कास्य जिते । नेपालका होमलाल श्रेष्ठ चौंथो भए ।
म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।
महिलातर्फको स्वर्ण श्रीलंकाकी हिरुनी केसराले जितिन् । उनले २ घण्टा ४१ मिनेट २४ सेकेण्डको समय निकालिन् ।
नेपालकी पुष्पा भण्डारीले रजत जितिन् । पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेण्डको समय निकालिन् ।
भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेण्डको समय सहित कास्य जितिन् ।
एथ्लेटिक्सको ८ सय मिटर दौडको पुरुषमा नेपालका सोम बहादुर कुमालले कास्य जिते । उनले १ मिनेट ५१.४४ सेकेण्डको समय निकाले ।
१ मिनेट ५०.५२ सेकेण्डको समयसहित श्रीलंकाका इन्दुनिलले स्वर्ण जिते । भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेण्डको समय सहित रजत जिते ।