ट्रकले बालिकालाई ठक्कर दिएपछि तनावग्रस्त कोहलपुरमा कर्फ्यू लगाइयो
कोहलपुर । ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।
कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको उनले बताए ।
अहिले प्रहरीले कर्फ्यूबारे माइकिङ गरिरहेको छ । ट्रकको ठक्करले विद्यार्थीलाई घाइते बनाएपछि आन्दोलनले उग्ररुप लिएको हो । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएपछि केही घाइते भएका छन् ।
प्रदर्शनकारीको ढुंगा र प्रहरीको गोली लागेर दुवैतर्फका २४ जना घाइते भएका छन् । आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् ।