उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड
चैत्र १९,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गराएका छन् । पूर्वराजा ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत कोषमा दुई करोड रुपैयाँ जम्मा गराएको ट्रस्टकी सदस्य सचिव रेश्मा राणाले जानकारी दिइन् । हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफू र परिवारको तर्फबाट सहयोग गरेको पनि राणाले बताइन् ।
पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीक्रण तथा राहत र उद्धारका लागि सरकारी र गैरसरकारी पक्षबाट भएको कामको समेत प्रशंसा गरेका छन् । साथै अहिले लकडाउन बाध्यात्मक अनिवार्यता भएको उल्लेख गर्दै सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट पहल गरेमा कोरोना महामारी रोक्न सकिने पनि उल्लेख गरेका छन् ।
त्यस्तै उनले कोरोना महामारीको संकटमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत तथा नेपाली सञ्चारमाध्यमलाई समेत धन्यवाद दिएका छन् ।