सुरक्षित गर्भपतन सेवामा अब्बल बन्दै भीमफेदी

हेटौँडा, २० जेठ । कोरोना भाइरसका कारण सिर्जित समस्याले हाल संसार नै अस्तव्यस्त जस्तो देखिएको छ । सानो अर्थतन्त्र भएको मुलुक हुनाको कारण पनि नेपालमा कोरोनाको कहर कम गर्न गरिएको लकडाउनले जनजीवन नराम्रोसंग प्रभावित भएको छ । यस्तो बेला आर्थिक रुपमा कमजोर तथा ज्यालादारी वा सानोतिनो व्यापार गरेर गुजारा चलाउने परिवारलाई आफ्नो दैनिकी चलाउन हम्मे हम्मे परिरहेको छ । दैनिक गुजारा गर्न नै असजिलो परिरहेको बेला स्वास्थ्य जाँच, उपचार, सुरक्षीत गर्भपतन सेवा तथा परिवार नियोजन सेवा जस्ता अत्यावश्यक स्वास्थ्य सेवाहरु सम्म सामान्य नागरिकहरुको सहज पहुँच हुन सकिरहेको छैन । सेवा प्रदायकहरु सेवादिन तत्पर नै भएपनि लकडाउनका कारण सेवाग्राहीहरु त्यहाँ सम्म पुग्न सकिरहेको अवस्था छैन । तर, असहजताको बीचमा पनि मकवानपुरको भीमफेदी गाउँपालिकामा भएका स्वास्थ्य केन्द्रहरुमा भने लकडाउनमा सामान्य अवस्थामा भन्दापनि बढी सेवाग्रहीहरुले सुरक्षीत गर्भपतन सेवा, यौन तथा प्रजनन् स्वास्थ्य सेवा तथा परिवार नियोजन सेवा लिएकाछन् ।

लकडाउनका कारण बजारका ठूला अस्पतालहरु सम्म पुग्न असजिलो भएर स्थानीय स्वास्थ्य केन्द्रहरुबाटै सेवा लिएको तथा विगतमा अन्यत्र रहेका तर लकडाउनपछि घर फर्किएका स्थानीय सेवाग्राहीहरु बढेका कारण स्थानीय स्वास्थ्य संस्थाहरुमा सेवा लिनेहरुको संस्था बढेको हुनसक्ने भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङ्ग बताउनुहुन्छ । बेलाबेलामा गाउँपालिका आफैले तथा आइपास नेपाल , ओचिण्ड जस्ता गैह्र सरकारी संघसंस्थाहरुले सर्वसाधारण नागरिकहरुको चेतनास्तर वृद्धिको लागि गरेको सचेतनामुलक कार्यक्रमहरुको प्रभावका कारण पनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा चेतनावृद्धि भएकोले पनि सेवाग्राहीहरु बढेको उहाँको भनाई छ । उहाँले गाउँपालिकाको तीनवटा स्वास्थ्य इकाई, चारवटा स्वास्थ्य चौकी र चिकित्सक सहितको एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरी आठवटा स्वास्थ्य संस्थाहरु मार्फत सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । प्रमुख थिङ्गका अनुसार त्यस बाहेक स्वास्थ्य स्वयमसेविकाहरु मार्फत प्रजनन स्वास्थ्य , परिवार नियोजन, मातृशिशु, सुरक्षीत गर्भपतन जस्ता स्वास्थ्य परामर्श सेवाहरु एवं परिवार नियोजनका अस्थायी साधनहरु वितरण गर्ने काम नियमित रुपमा भइरहेको छ । गाउँपालिकामा प्रत्येक महिना महिला स्वास्थ्य स्वयमसेविकाहरुको बैठक बस्ने र बैठक सकेर घर फर्कदा स्वयमसेविकाहरुले कण्डम, पिल्स जस्ता परिवारनियोजनका अस्थायी साधनहरु लिएर जाने र आवश्यकलाई निशुल्क वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकामा सुरक्षीत गर्भपतन सेवालिन आउनेहरुको संख्या पनि बढ्दो पाइएको छ । यहाँ क्रियाशील ओचिण्ड(Wochend) लगायत विभिन्न संघसंस्थाहरुले गाउँगाउँ र टोलटोलमा समुह बनाएर गर्भपतनसेवा लिदा सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिदाहुने फाइदा तथा अवैधानिक र असुरक्षीत संस्थाहरुबाट सेवा लिदा हुने हानी नोक्सानीका बारेमा जानकारी गराएका कारण मान्यता प्राप्त संस्थाहरुमा गर्भपतन गराउन आउनेहरुको संख्या बढेको छ । विगतमा अशिक्षा तथा डरको कारण सुरक्षीत गर्भपतन सेवा लिन हिच्किचाएर असुरक्षीत तथा स्वास्थ्यमा गम्भिर असर पर्नेगरी सेवा लिनेहरुको संख्या अधिक रहेको र हाल चेतनास्तरको वृद्धिका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवालिनेहरुको संख्या बढिरहेको निवुवाटार स्वास्थ्य चौकीकी सुरक्षीत गर्भपतनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी सानु लामा बताउनुहुन्छ । भीमफेदी गाउँपालिकामा भएका दुईवटा मान्यता प्राप्त सुरक्षीत गर्भपतन सेवा उपलब्ध गराउने संस्था मध्य पछिल्लो निबुवाटार स्वास्थ्य चौकीमा हाल मासिक ६ जनासम्मले सुरक्षीत गर्भपतन सेवा लिने गरेकाछन् ।

त्यस्तै , भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक १० जनासम्मले सुरक्षीत गर्भपतन सेवा लिने गरेको स्वास्थ्य केन्द्रमा सुरक्षीत गर्भपतन सेवा हेर्ने स्वास्थ्यकर्मी जुना घिसिङ बताउनुहुन्छ । उहाँका अनुसार सुरक्षीत गर्भपतनका साथसाथै गर्भपतन पश्चातको परिवार नियोजन सेवा लिनेहरुको दर पनि बढिरहेको छ । उहाँले केन्द्रमा अविवाहित किशोरी देखि नचाहँदा नचाहँदै गर्भ रहनपुगेका विवाहित महिलाहरु समेत गर्भपतनका लागि आउने गरेको र आफूहरुले अति गोप्य र सुरक्षीत तवरले गुणस्तरीय सेवा दिने गरेको बताउनुभयो ।

भीमफेदी गाउँपालिकामा प्रजनन् तथा यौन स्वास्थ्य सम्बन्धी बुझाई पहिले भन्दा फेरिएको बताउनुहुन्छ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना । गाउँपालिकाको स्वास्थ्य शाखा तथा जनप्रतिनिधि एवं संघसंस्थाहरुको पहलमा चेतना मुलक कार्यक्रमहरु गर्नाको कारण समाजमा सकारात्मक परिवर्तन आएको उहाँको भनाई छ । आइपास नेपाल,ओचिण्ड(Wochend) जस्ता संघ सस्थाहरुले पालिकाको काममा होस्टेमा हैसे गरेको उहाँले बताउनुभयो । विगतमा कुनैबेला अनिच्छित गर्भपतन गराउनु कानूनी रुपमा अवैधानिक थियो । कसैले त्यसरी गर्भपतन गराए भ्रुण हत्याको आरोपमा कानूनी सजाय भोग्नुपथ्र्याे । कानूनको डरले गर्भपतन गर्ने काम भने रोकिदैन थियो । गर्भपतन गराउनेहरु लुकिछिपी विभिन्न असुरक्षीत तरिकाले गर्भपतन गराउथे । गर्भपतन सम्बन्धी कानून बनिसक्दा समेत अशिक्षाका कारण कतिपय त गर्भपतन गराउन झारफुक गर्ने, झारबुट्टाहरु तथा हानिकारक चिजवस्तुहरु खाने , गह्रौं वस्तुहरुले पेटमा हान्ने एवं तिखा तथा धारिला वस्तुहरुले यौनाङ्ग र पाठेघरमा घोच्ने लगायतका घातक प्रयासहरु हुन्थे । अविवाहित गर्भवतीहरुले मानसिक तनावको व्यवस्थापन गर्न नसक्दा जीवननै त्यागेका थुप्रै उदाहरणहरु भेटिन्थे ।

तर आज समय फेरिएको छ । देशमा भएका तीन तहका सरकारहरुले चेतनावृद्धिका लागि काम गरिरहेकाछन् । भीमफेदीमा ओचिण्ड (Wochend) जस्ता सामाजिक संघसंस्थाहरुले घरघरमा पुगेर चेतना फैलाई रहेकाछन् । तालिम गोष्ठीहरु आयोजना भएकाछन् । निश्चित अवधिको गर्भपतन गराउन पाउने कानून बनेपछि जो सुकैले पनि कानूनी रुपमै र गोप्य तवरले अनिच्छित गर्भपतन गराउन पाउने भएकाछन् । गर्भपतन कहाँ, कसले, किन, कसरी र कोबाट भन्ने जानकारी प्राप्त गरेका इच्छुकहरुलाई सेवा लिन सजिलो भएको छ । स्थानीय सरकार तथा ओचिण्ड मकवानपुर गर्भपतन नै गराउन नपर्ने अवस्था श्रृजना गर्न परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको बारेमा चेतना कुनाकुना सम्म पु¥याउन लागि परेको दखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*