प्रधानमन्त्री ओलीलाई कमिकमजोरी सच्याएर अघि बढ्न सुझाब
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका छन् ।
प्रधानमन्त्री ओलीले आज आफू निकटका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए ।
पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।
त्यस क्रममा ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्बाङले बताए ।
नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।
मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारत्मक दिशामा जाने आश रहेको बताएका छन् ।