प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरमा निरन्तर विरोध प्रदर्शन

जनकपुर । यतिबेला प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ओलीकोबिरुद्ध प्रदर्शन गर्नेहरुले केपी ओली मुर्दावाद भन्दै नारा समेत लगाइरहेका छन् ।

भानु जयन्ती अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत होइन, नेपालकै भूभाग पर्साको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताउनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीको नेपाल तथा भारतमै सर्वत्र बिरोध भइरहेको छ ।

त्यतिमात्रै नभई यतिबेला रामको ससुराली जनकपुरमा ओलीबिरुद्ध निरन्तर प्रदर्शन भइरहेको छ । बुधवार जनकपुरमा हिन्दू परिषद् नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको हो ।

हिन्दू परिषद नेपालका जनकपुर नगर कमिटी अध्यक्ष मिथिलेश झाले न्यूज २४ लाई धर्मको बिषयमा राजनीति गर्न नहुने प्रतिक्रिया दिनुभयो । झाले वैदिक र सांस्कृतिक रुपमा ओलीले विश्वका करोडौ हिन्दूमाथि यो सांघातिक हमला गरेको आरोप लगाउनुभयो।

परिषदले नेपालको राष्ट्रिय झन्डा र हिन्दू परिषदले प्रयोग गर्ने रातो झण्डा लिएर जनकपुरको रामानन्द चोकबाट र्याली सुरु गरेर नगरको बिभिन्न भागको परिक्रमा गर्दै राजा जनकको मुख्य मन्दिर रहेको जनक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*