कोरोना संक्रमणबाट प्रत्येक १५ सेकेन्डमा १ को मृत्यु
एजेन्सी । कोरोना भाईरस संक्रमणका कारण विश्वमा हरेक दिन करिब ६ हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लो दुई हप्ताको आंकडा अनुसार संक्रमणले प्रत्येक घण्टा २ सय ४७ र हरेक १५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको छ ।
हालसम्म कोरोनाका कारण ७ लाख भन्दा बढीको मृत्यु भईसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने देशहरुमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन् ।
अमेरिका र ल्याटिन अमेरिका कोरोना महामारीको अत्यधिक चपेटामा परेका छन् । संक्रमण रोक्ने थुप्रै प्रयासहरु भएपनि असफल भईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विज्ञहरुका अनुसार यी देशहरुमा घना जनसंख्या र गरिबीका कारण कोरोना रोकथाममा कठीनाई भएको हो ।
यूनाईटेड नेशन्स ह्यूमन सेटलमेन्ट प्रोगामका अनुसार अत्याधिक जनसंख्या भएका देशहरुमा थुप्रै मानिसहरुलाई असंगठीत क्षेत्रमा काम गर्नुपर्ने बाध्यता र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नसक्नुनै यसको मुख्य चुनौती हो । संक्रमण तीब्र रुपमा बढ्दै गईरहेका कारण फेरी लकडाउन गर्नुको बिकल्प नरहेको विज्ञहरुको भनाई छ ।