३० मिनेटमै कोरोना परीक्षणको नतिजा दिने प्रविधि विस्तार हुँदै
हेटौडा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले छोटो समयमै कोरोना भाइरस पत्ता लगाउने परीक्षण प्रविधि १३३ देशमा विस्तार गर्ने भएको छ । यो परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा विस्तार गर्ने डब्लुएचओले जनाएको छ ।
पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा डब्लुएचओले पठाउन लागेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षण कोरोना भाइरस नियन्त्रणका लागि कोसेढुङ्गा साबित बताएका छन् ।
उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले ६ महिनाभित्र १२ करोड थान त्यस्ता परीक्षण उपलब्ध गराउने तयारी थालेको छ । यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ ।
सोमवार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भने,‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ।’
नेपालमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रण तीव्र फैलिरहेको छ । मृत्यु दर पनि निकै बढेको छ । यही रफ्तार कायम रहेमा नेपाल पनि छिट्टै कोरोना अति प्रभावित मुलुकको सूचीमा पर्ने देखिन्छ । डब्लुएचओले नेपालमा यो प्रविधि पठाउने कि नपठाउने भन्ने केही समयपछि मात्रै जानकारी दिने भएको छ ।